परिचय

राष्ट्रिय किताबखाना राष्ट्रसेवकहरूको व्यक्तिगत तथा सेवासम्बन्धी अभिलेख व्यवस्थापन गर्ने नेपाल सरकारको केन्द्रीय निकाय हो। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०३/३२ को निर्णयअनुसार राष्ट्रिय किताबखानाको नयाँ संगठनात्मक संरचना तथा दरबन्दी स्वीकृत भई साविकका राष्ट्रिय किताबखाना (निजामती), राष्ट्रिय किताबखाना (प्रहरी) र राष्ट्रिय किताबखाना (शिक्षक) लाई एकीकरण गरी एउटै राष्ट्रिय किताबखाना कायम भएको छ। हाल राष्ट्रिय किताबखाना भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विभागस्तरको निकायका रूपमा निजामती सेवा, विद्यालय शिक्षा सेवाका शिक्षक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाललगायत राष्ट्रसेवकहरूको सेवासम्बन्धी अभिलेख व्यवस्थापन गर्दै आएको छ।

राष्ट्रिय किताबखाना १८० वर्षको संस्थागत इतिहास बोकेको अभिलेख व्यवस्थापनसम्बन्धी केन्द्रीय निकाय हो। वि.सं. १९०३ मा नेपालमा राणाशासनको सुरुआत भएपछि पजनी हुने कर्मचारीहरूको लगत राख्ने कार्य एक जना कर्मचारीबाट सुरु भएको र सोही सेवालाई निरन्तरता दिंदै निजामती, जंगी, प्रहरी तथा मिलिसिया कर्मचारीहरूको लगत व्यवस्थित रूपमा राख्ने प्रयोजनका लागि वि.सं. १९०५ मामुलुकी किताबखाना का रूपमा यस कार्यालयको स्थापना भएको थियो। वि.सं. १९३३ देखि २००७ सालसम्म कमाण्डर इन चिफ को मातहतमा रहने गरीकमाण्डरी किताबखाना नामबाट सञ्चालन भएको यस किताबखानाले तत्कालीन समयमा नयाँ भर्ना हुने कर्मचारीलाई प्रधानमन्त्री तथा चिफ साहेबको दर्शन गराउने र त्यसपछि कर्मचारीको नाम दर्ता गर्ने कार्यसमेत गर्दथ्यो। वि.सं. १९९७ देखि सेवा निवृत्त कर्मचारीहरूलाई निवृत्तभरण (पेन्सन) दिने व्यवस्था लागु भएपछि कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) भराई अभिलेख राख्ने कार्यसमेत सुरु गरिएको थियो।

वि.सं. २००८ सालपछि गृह मन्त्रालय, मन्त्रिपरिषद् सचिवालय तथा प्रशासन व्यवस्था विभागलगायत निकायका कर्मचारीहरूको अभिलेख राखिएको तथा वि.सं. २००९ सालसम्म शाही नेपाली सेनाको अभिलेखसमेत यसै किताबखानाबाट व्यवस्थापन गरिएको देखिन्छ। वि.सं. २०२२ सालदेखि यस कार्यालयको नाम निजामती किताबखाना कायम भए तापनि वि.सं. २०३५ सालसम्म नेपाल प्रहरीको अभिलेखसमेत यसै किताबखानाबाट व्यवस्थापन हुँदै आएको र सो पश्चात प्रहरी कितावखाना गठन भएको पाइन्छ।

त्यसैगरी, नेपालमा स्थायी शिक्षकहरूलाई निवृत्तभरण तथा सेवा निवृत्त सुविधा प्रदान गर्ने नीतिगत आधार राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ तथा शिक्षा नियमावली, २०२८ को पाँचौं संशोधन, २०३६ बाट प्रारम्भ भई २० वर्ष सेवा पूरा गरेका विद्यालय शिक्षकलाई निवृत्तभरण र १० वर्ष सेवा पूरा गरेका शिक्षकलाई अनुदान (उपदान) दिने व्यवस्था गरिएको थियो। यसको कार्यान्वयनका लागि वि.सं. २०४२ सालमा केन्द्रीय व्यवस्था समितिबाट प्रारम्भिक काम अघि बढाई शिक्षकहरूको ठूलो सङ्ख्या तथा कार्यबोझलाई ध्यानमा राखी निवृत्तभरणसम्बन्धी कार्य पाँचै क्षेत्रीय शिक्षा निर्देशनालयबाट सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। यसअनुसार वि.सं.२०४२ देखि वि.सं. २०५४ सालसम्म शिक्षकहरूको सेवा निवृत्त सुविधासम्बन्धी कार्य क्षेत्रीयस्तरबाट हुँदै आएकोमा शिक्षकहरूको नियुक्ति, बढुवा, सेवासम्बन्धी अभिलेख तथा सेवा निवृत्त सुविधा व्यवस्थित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले मन्त्रिपरिषद्को मिति २०५४/१०/०२ को निर्णयअनुसार विद्यालय शिक्षक किताबखाना स्थापना भएको हो।यसरी विभिन्न कालखण्डमा निजामती, शिक्षक, नेपाल प्रहरी तथा अन्य सुरक्षा सेवासँग सम्बन्धित राष्ट्रसेवकहरूको सेवासम्बन्धी अभिलेख व्यवस्थापन, सेवा निवृत्त सुविधासम्बन्धी कार्य तथा प्रचलित कानुनबमोजिम सम्पत्ति विवरण व्यवस्थापनलगायतका कार्यहरू हुँदै आएका छन्।

हाल, नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८३/०३/३२ को निर्णयअनुसार स्वीकृत नयाँ संगठनात्मक संरचना तथा दरबन्दीबमोजिम साविकका राष्ट्रिय किताबखाना (निजामती), राष्ट्रिय किताबखाना (प्रहरी) र राष्ट्रिय किताबखाना (शिक्षक) एकीकृत भई राष्ट्रिय किताबखाना

कायम भएको छ। यस एकीकरणसँगै राष्ट्रसेवकहरूको सेवासम्बन्धी अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने आधार तयार भएको छ।

राष्ट्रिय किताबखानाले निजामती, शिक्षक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाललगायत राष्ट्रसेवकहरूको नियुक्ति, सरुवा, बढुवा, विभागीय कारबाही, सेवा अवधि, अवकाश तथा सेवा निवृत्त सुविधा, अशक्त वृत्ति, सन्तती शैक्षिक वृत्ति लगायतका अभिलेख व्यवस्थित रूपमा राख्ने साथै, सेवा निवृत्त राष्ट्रसेवक/हकवालालाई उपादान, निवृत्तभरण, पारिवारिक निवृत्तभरण, पारिवारिक वृत्ति, उपचार खर्च, शैक्षिक भत्ता तथा सन्तति वृत्तिलगायतका सेवा-सुविधा उपलब्ध गराउने, निवृत्तभरण अधिकारपत्र जारी गर्ने, नामसारी गर्ने, सेवा अवधिको अभिलेख राख्ने र अवकाश हुनुभन्दा () महिना अगावै सरोकारवालालई अवकाससम्वन्धी सूचना उपलब्ध गराउनेलगायतका कार्यहरू कानूनवमोजिम गर्दै आएको छ।

संघीय प्रशासनिक संरचनाअनुरूप प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अभिलेखलाई समेत व्यवस्थित बनाउन सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रविधि र प्रणाली हस्तान्तरण भई प्रादेशिक कितावखानाहरू सञ्चालन भएका छन्। तलबी प्रतिवेदन पारित, सिटरोल दर्ता, पेन्सनपट्टा बनाउनेलगायतका सेवासम्बन्धी कार्य सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयहरूमार्फत समेत सञ्चालन हुँदै आएका छन्।

राष्ट्रिय किताबखानाले सेवाग्राहीलाई छिटो, छरितो, सरल, पारदर्शी, विश्वसनीय, सुरक्षित तथा सेवाग्राहीमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले विद्युतीय सेवा प्रणालीको विकास र विस्तारलाई प्राथमिकता दिएको छ।अभिलेख अद्यावधिक र व्यवस्थित गरी सेवा प्रवाहलाई नतिजामूलक बनाउन विभिन्न विद्युतीय प्रणालीको प्रयोग तथा विकास भइरहेको छ। सेवाग्राहीले नागरिक एपबाट पनि आफ्नो सेवासम्बन्धी विवरण हेर्न सक्ने व्यवस्था छ।

त्यसैगरी, लोक सेवा आयोगलगायत सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, सहकार्यका लागि समझदारीमार्फत अभिलेखको विश्वसनीयता, तथ्याङ्कको उपयोगिता तथा सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने कार्य हुँदै आएको छ। राष्ट्रसेवकहरूको सेवासम्बन्धी अभिलेखको संरक्षण, अद्यावधिक तथा सुरक्षित व्यवस्थापनसँगै सेवाग्राहीलाई समयमै गुणस्तरीय सेवा प्रदान गर्नु राष्ट्रिय किताबखानाको प्रमुख जिम्मेवारी पूरा गर्नका लागि महानिर्देशक, निर्देशक, शाखा अधिकृत वा सो सरह. कम्प्युटर ईञ्जिनीयर, कम्प्युटर अधिकृत, नायव सुव्वा, कम्प्युटर अपरेटर, खरिदार, हलुका सवारी चालक, कार्यालय सहयोगीसहित १०६ जना राष्ट्रसेवकहरू राष्ट्रिय कितावखानाको मूल्य, मान्यता तयार गरी सोप्रति सामुहिक प्रतिवद्धता जाहेर गरी अपेक्षित लक्ष प्राप्तिमा जुटेका छन्।

राष्ट्रिय किताबखानाको संस्थागत विश्वसनीयता, अभिलेखको सुरक्षा र सेवा प्रवाहको प्रभावकारिता कायम राख्न नेपाल सरकारका सबै तह, निकाय तथा सम्बन्धित सरोकारवालाहरूको निरन्तर समन्वय, सहकार्य र सद्भाव आवश्यक रहेको छ।