महानिर्देशकको मन्तव्य

नेपाल सरकार (भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) मातहत रहेको राष्ट्रिय किताबखाना, राष्ट्रसेवक कर्मचारीहरूको व्यक्तिगत विवरण, पद दर्ता, संगठन संरचना एवं दरबन्दीको केन्द्रीय अभिलेख व्यवस्थापन गर्ने एक विशिष्ट र ऐतिहासिक निकाय हो। निजामती, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा विशेष सेवाका राष्ट्रसेवकहरूको सेवा प्रवेशदेखि निवृत्तभरण तथा मरणोपरान्त पारिवारिक सुविधा व्यवस्थापनसम्मका सम्पूर्ण कार्यहरूमा यस विभागले निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ। साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम राष्ट्रसेवकहरूको सम्पत्ति विवरण संकलन, दर्ता तथा संरक्षण गर्ने महत्वपूर्ण जिम्मेवारीसमेत यसै विभागमा निहित छ।

सम्बन्धित ऐन, कानुन तथा नियमावलीहरूको मर्म अनुरूप राष्ट्रसेवकहरूको सेवा, सर्त र सुविधालाई सुरक्षित, पारदर्शी एवं अनुमानयोग्य बनाउन विभाग सदैव कटिबद्ध छ। सेवा निवृत्त कर्मचारीहरूलाई उपदान, निवृत्तभरण, पारिवारिक निवृत्तिभरण, असाधारण पारिवारिक वृत्ति तथा सन्तति वृत्तिलगायतका सुविधाहरू सहज र द्रुत गतिमा उपलब्ध गराउनुका साथै नीति निर्माता, योजनाकार, अनुसन्धानकर्ता एवं सरोकारवाला निकायहरूलाई आवश्यक तथ्यपरक विवरण र तथ्याङ्क उपलब्ध गराउने कार्यमा विभागको भूमिका अहम् रहँदै आएको छ।

सार्वजनिक प्रशासनलाई आधुनिक, प्रविधिमैत्री र जनउत्तरदायी बनाउन राष्ट्रिय किताबखानाले आफ्ना आन्तरिक कार्यप्रणाली र सेवा प्रवाहलाई पूर्णतः डिजिटलाइजेसनतर्फ डोर्याइरहेको छ। यसै क्रममा, अन्तर-निकाय प्रणालीगत आबद्धता (System Integration) लाई संस्थागत गर्दैलोक सेवा आयोगको पदपूर्ति व्यवस्थापन प्रणाली (PSRMS) सँग विद्युतीय सेवा (e-Service) मार्फत सिटरोल दर्ता प्रक्रियालाई प्रत्यक्ष रूपमा जोडिएको छ। त्यसैगरी, कर्मचारी सञ्चय कोषसँग समझदारी गरी सिटरोल दर्ताकै बखत केवाईसी (KYC) विवरण आदानप्रदान, सञ्चय कोष नम्बर (PF Number) तथा UCIN नम्बर तत्काल स्वचालित रूपमा सिर्जना हुने एकीकृत डिजिटल प्रणालीको थालनी गरिएको छ। प्रदेशसरकारलाई प्रदेश एबं स्थानीय तहको PIS पोर्टलकासाथै अन्य सेवाको PIS पोर्टल समेत हस्तान्तरण भई यस ऐतिहासिक प्राविधिक सहकार्यले नवप्रवेशी कर्मचारीहरूको विवरण दर्ता प्रक्रियालाई झन्झटमुक्त, छिटो-छरितो, विश्वसनीय र पूर्णतः प्रविधिमैत्री बनाएको छ।यस विभागले भौतिक उपस्थिति विना सेवा प्रदान गर्ने लक्ष्य समेत लिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम मन्त्रालयगत तथा सांगठनिक संरचना र दरबन्दी तेरिजमा भएका पछिल्ला परिमार्जनहरूलाई आत्मसात गर्दै विभागले निकाय दर्ता, पद दर्ता, तलबी प्रतिवेदन पारित र सम्पत्ति विवरण अद्यावधिक गर्ने कार्यलाई तिव्रताका साथ सम्पादन गरिरहेको छ। यस प्रतिवेदन अवधिसम्ममा निजामती तर्फ(९२,४२८), शिक्षक तर्फ (९५,५६०), नेपाल प्रहरी,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा सतर्कता केन्द्र तर्फ(१,१५,८३७) गरी कूल कार्यरत राष्ट्रसेवक कर्मचारी संख्या(३,०३,८२५) रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा विभागबाट सम्पादित प्रमुख नीतिगत, प्रशासनिक तथा प्राविधिक उपलब्धि, दरबन्दी र कार्यरत जनशक्तिको यथार्थ स्थिति तथा तथ्याङ्कीय विवरणहरूलाई समेटेर यो संयुक्त वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गरिएको छ।

यस प्रतिवेदनले विभागका वार्षिक उपलब्धिहरूलाई उजागर गर्नुका साथै विद्यमान समस्या, चुनौती र आगामी कार्यदिशालाई समेत प्रष्ट पारेको छ। यो प्रतिवेदन सार्वजनिक प्रशासनका अध्येता, नीति निर्माता, अनुसन्धानकर्ता एवं आम पाठकका लागि उपयोगी सन्दर्भ सामग्री बन्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु।

अन्तमा, यस वार्षिक प्रतिवेदन प्रकाशनको चरणसम्म आइपुग्न महत्वपूर्ण मार्गदर्शन प्रदान गर्नुहुने मन्त्रालय परिवार, , निष्ठापूर्वक कार्यसम्पादन गर्ने विभागका सम्पूर्ण कर्मचारी साथीहरू, साझेदार निकायहरू तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु।

आरती न्यौपाने

महानिर्देशक

राष्ट्रिय किताबखाना, हरिहरभवन, ललितपुर