महानिर्देशक ज्यूको सन्देश


राष्ट्रिय किताबखाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको विभागस्तरको कार्यालय हो। वि.सं. १९०५ मा निजामती, जङ्गी, प्रहरी र मिलिसियाका कर्मचारीहरुको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नामबाट स्थापना भएको यो कार्यालयले समयको कालखण्डसँगै विभिन्न नामबाट आफ्नो कार्यसम्पादन गर्दै आएको छ। वि.सं. २०२२ सालदेखि निजामती किताबखानाको रुपमा कार्यसम्पादन गर्दै आएको यो निकाय नेपाल सरकार(मन्त्रिपरिषद्) को मिति २०७५।०२।०६ को निर्णयानुसार निजामती, विद्यालय शिक्षक र प्रहरी किताबखाना तीनवटैलाई एकिकृत गरी राष्ट्रिय किताबखाना नामाकरण भईसकेको छ भने हाल यी किताबखानाहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राष्ट्रिय किताबखाना(निजामती), राष्ट्रिय किताबखाना(शिक्षक) र राष्ट्रिय किताबखाना(प्रहरी) को नामबाट साबिकका स्थानबाट नै सञ्चालनमा रहेको अवस्था छ।


राष्ट्रिय किताबखाना (निजामती) बाट नेपाल सरकारको संगठन संरचना तथा दरबन्दी, निजामती कर्मचारीहरूको वैयक्तिक विवरण (सिटरोल) दर्ता देखि सेवानिवृत्त पश्चातसम्मका विवरणहरू अद्यावधिक गर्ने, मन्त्रालय, सचिवालय आयोग र विभाग तथा उपत्यका भित्र रहेका कार्यालयहरूको वार्षिक तलबी प्रतिवेदन पारित गर्ने, सेवाबाट अलग भएका कर्मचारीको उपदान, निवृत्तभरण, पारिवारिक निवृत्तभरण, असाधारण पारिवारिक वृत्ति, शैक्षिक तथा सन्तति वृत्ति, उपचार खर्च, विदाको रकम यकिन गर्ने, निवृत्तभरण अधिकारपत्र जारी गर्ने, निजामती कर्मचारीहरुको सम्पत्ति विवरण अद्यावधिक गर्ने कार्यहरू सम्पादन हुने गरेको छ। त्यसैगरी उल्लिखित कार्यहरू शिक्षकका हकमा राष्ट्रिय किताबखाना (शिक्षक) र प्रहरी कर्मचारीहरूको हकमा राष्ट्रिय किताबखाना (प्रहरी)बाट सम्पादन हुँदै आएका छन् ।

विगतमा परम्परागत फाइलिङ्ग र ढड्डा प्रणालीमा रहेको यस विभागको अभिलेख प्रणाली हाल करिब ९५ प्रतिशत कार्यहरू सफ्टवेयरमा आधारित रहेका छन् । अभिलेख प्रणाली व्यवस्थित रहेको छ । यो निकायमा रहने अभिलेख निजामती कर्मचारीहरुको सेवानिवृत्त/शेषपश्चात् कर्मचारी परिवारको लागि पनि प्रयोगमा आउने हुन्छ । यहाँबाट सम्पादन हुने कार्यहरू नेपाल सरकारका सबै निकायहरूसँग अन्तरसम्बन्धित रहेकोले सम्बन्धित निकायहरूबाट अभिलेख राख्नुपर्ने विवरणहरू प्राप्त नभएसम्म कार्यसम्पादन हुन नसक्ने अवस्था समेत छ । तसर्थ सम्पूर्ण निकायहरू तथा कर्मचारीहरूमा यस निकायको वेबसाइट, आफ्नो कर्मचारी वैयक्तिक विवरण (पि.आई.एस.), लगायतका विवरणहरु निरन्तर हेर्नुहुन, अद्यावधिक गर्नुपर्ने कागजात/विवरण समयमा नै उपलब्ध गराउनुहुन, निर्णय लिन आधार लिनुपर्ने कागजातहरू सहित उपस्थित हुन, समयमा नै तलबी प्रतिवेदन पारित गराउनुहुन, कर्मचारीको अवकाश हुने उमेर यकिन गरी समयमा नै पत्राचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।


यहाँहरूको अमूल्य सुझाव नै हाम्रो सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री बनाउन एवं कार्यप्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मार्गदर्शन हुने भएकोले सम्बन्धित सबैलाई यस कार्यमा सहयोगका लागि सविनय अनुरोध गर्दछौं।

राष्ट्रिय किताबखाना (निजामती)