राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, २०८३

 

 

 

 

 

 

 

 

 

राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083

 

 

 

 

 

 

 

 

 

 

 

 

 

राष्ट्रिय किताबखाना 2083

 

 

 

 

 

 

 

 

राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083

प्रस्तावना : कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, गुणस्तरीय, सदाचारयुक्त, पारदर्शी, मर्यादित, उत्तरदायी, सेवाग्राहीमुखी र अनुशासित बनाउन आचारसंहिता सम्बन्धी व्यवस्था गर्न बाञ्छनीय भएकाले,

     सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, 2064 को दफा २३ को उपदफा (3) ले दिएको अधिकार प्रयोग गरी राष्ट्रिय किताबखानाले यो आचारसंहिता बनाएको छ ।

१.संक्षिप्त नाम र प्रारम्भ : (१) यस आचार संहिताको नाम "राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083" रहेको छ।

(२) यो आचारसंहिता सम्वत् 2083 साल कार्त्तिक महिना १९ गतेदेखि प्रारम्भ हुनेछ ।

२.परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचारसंहितामा, -

  • "आचारसंहिता" भन्नाले राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता, 2083 लाई सम्झनु पर्छ ।
  • "आचरण" भन्नाले विभागमा कार्यरत कर्मचारीबाट पालना गर्नुपर्ने व्यवहारलाई सम्झनु पर्दछ।
  • "कर्मचारी" भन्नाले विभागमा कार्यरत कर्मचारीलाई सम्झनु पर्दछ र सो शब्दले सेवा करारमा कार्यरत कर्मचारीलाई समेत जनाउँछ ।
  • "विभाग"भन्नाले राष्ट्रिय किताबखानालाई सम्झनु पर्छ ।
  • “महानिर्देशक” भन्नाले राष्ट्रिय किताबखानाको महानिर्देशकलाई सम्झनु पर्छ ।
  • "सेवाग्राही" भन्नाले विभागको कामसँग सरोकार राख्ने निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र तथा गुप्तचर (राष्ट्रिय अनुसन्धान) र स्थायी विद्यालय शिक्षक सम्झनुपर्छ र सो शव्दले त्यस्ता कर्मचारीको परिवारलाई समेत जनाउँछ ।

3.मूल्य र मान्यताः (१) कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, दक्ष, अनुशासित र व्यावसायिक भई कार्यसम्पादन गर्नु पर्नेछ।

      (२) कर्मचारीले सेवाग्राहीको आवश्यकता, सुविधा र अधिकारलाई सम्मान गर्दै सरल, सहज, छिटो, पारदर्शी र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेछ।

         (३) कर्मचारीले कार्यसम्पादनमा उच्च नैतिक आचरण, इमानदारिता र सदाचारिता कायम राख्दै कार्यालयका अभिलेख, सूचना तथा विवरणको सुरक्षा र गोपनीयता कायम गर्नुपर्नेछ।

         (४) जात, धर्म, लिङ्ग, भाषा, क्षेत्र वा अन्य कुनै आधारमा भेदभाव नगरी तटस्थ, निष्पक्ष र समान व्यवहार गर्नुपर्नेछ।

         (५) परिवर्तित कार्यप्रणाली, सूचना तथा सञ्चार प्रविधि र नवीनतम अभ्यासलाई आत्मसात् गर्दै सेवा प्रवाहलाई प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउनु पर्नेछ।

४. पदीय आचरण र पेशागत व्यवसायिता: संविधान तथा प्रचलित कानूनको अधीनमा रही प्रत्येक कर्मचारीले देहाय बमोजिम पदीय र पेशागत आचरण पालन गर्नुपर्नेछ :-

  1. सार्वजनिक हितलाई सर्वोपरि राखी इमानदार, निष्पक्ष, जिम्मेवार व्यावसायिक, सदाचारिता र सद्चरित्रमा आधारित भई कार्य गर्ने,
  2. राय, सुझाव वा निर्णय गर्दा आधार, कारण र सम्बन्धित कानून उल्लेख गर्ने,
  3. आफ्नो जिम्मेवारीको कार्यको प्रगति यथासमयमा DRS (Daily Reporting System) प्रणाली मार्फत जानकारी गराउने तथा ढिलाइ भए कारणसहित माथिल्लो अधिकारीलाई जानकारी गराउने,
  4. निर्धारित पोशाक, परिचयपत्र, कार्यालय समय तथा बिदासम्बन्धी व्यवस्था पालना गर्ने,
  5. कार्यालय परिसरमा धूम्रपान/सूर्तिजन्य पदार्थ सेवन नगर्ने तथा मादक पदार्थ सेवन गरी कार्यालयमा प्रवेश नगर्ने,
  6. सेवाग्राहीसँग शिष्ट, सम्मानजनक, समान र सेवामुखी व्यवहार गर्ने,
  7. जात, धर्म, लिङ्ग, भाषा, विचार वा अन्य आधारमा भेदभाव नगर्ने,
  8. सेवाको प्रगति वा आवश्यक प्रक्रियाबारे सेवाग्राहीलाई यथार्थ जानकारी  दिने,
  9. अनुचित दबाब, प्रभाव, लोभ, प्रलोभन वा पक्षपातबाट मुक्त रही कार्य गर्ने,
  10. व्यक्तिगत स्वार्थ वा अवाञ्छित सम्बन्धका कारण पदीय जिम्मेवारीमा असर पर्न नदिने,
  11. कानूनबमोजिम प्राप्त निर्देशन पालना गर्ने तर गैरकानूनी कार्य गर्न वा गराउन नहुने,
  12. कार्यालयको मर्यादा र प्रतिष्ठामा आँच आउने कुनै कार्य नगर्ने,
  13. कर्मचारीले सामाजिक सञ्जाल तथा सार्वजनिक सूचना संयन्त्रको प्रयोग गर्दा प्रचलित कानून, पदीय मर्यादा तथा सेवाको गरिमा कायम राखी जिम्मेवार, संयमित र मर्यादित रूपमा प्रयोग गर्नुपर्नेछ,
  14. कर्मचारीले कार्यालय समयभित्र दिउँसो १:३० बजेदेखि २:०० बजेसम्मको अवधिमा वा सेवाप्रवाहमा असर नपर्ने गरी कर्मचारीहरूले पालैपालो (रोटेशन) प्रणालीबाट खाजा/विश्राम समय लिनुपर्नेछ।

६.  विद्युतीय सेवा प्रवाह एवम् अभिलेख व्यवस्थापन सम्बन्धी आचरण : विभागमा कार्यरत कर्मचारीले देहायका विद्युतीय सेवा प्रवाह एवम् अभिलेख व्यवस्थापन सम्बन्धी आचरण पालन गर्नुपर्नेछ :-

  1. कार्यालयको ईमेल, डिजिटल हस्ताक्षर, GIOMS प्रणाली तथा विद्युतीय हाजिरी लगायतका प्रणालीको प्रभावकारी प्रयोग गर्ने,
  2. प्राप्त कागजात तथा सूचनाको आवश्यकतानुसार डिजिटाइजेशन र सुरक्षित अभिलेखीकरण गर्ने,
  3. आफ्नो जिम्मेवारीका फाइल, अभिलेख र डिजिटल विवरण सुरक्षित तथा अद्यावधिक राख्ने,
  4. PIS तथा अन्य विद्युतीय प्रणालीमा विवरण समयमै अद्यावधिक गर्ने।

७. आर्थिक अनुशासन: विभागमा कार्यरत कर्मचारीले देहायका आर्थिक अनुशासनको पालना गर्नु पर्नेछ :-

  1. सरकारी स्रोत, सवारी, उपकरण तथा सम्पत्तिको मितव्ययी, जिम्मेवार र कार्यालय प्रयोजनमा मात्र प्रयोग गर्ने,
  2. कार्यालयको स्रोतसाधनबाट व्यक्तिगत लाभ नलिने,
  3. सरकारी सवारी साधन वा अन्य यन्त्र तथा उपकरण विवेकपूर्ण र मितव्ययी रूपमा उपयोग गर्नुपर्नेछ।

७.  सूचनाको गोपनियता एवम् सम्प्रेषण सम्बन्धी आचरण : यस विभागमा कार्यरत कर्मचारीले सूचना सम्प्रेषण सम्बन्धमा देहाय बमोजिमको आचरण पालना गर्नुपर्नेछ :-

  1. कानूनले गोप्य राख्नुपर्ने भनी किटान गरेका सूचना प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रकाशन वा कोही कसैको लागि प्रयोग गर्नु गराउनु हुँदैन,
  2. आधिकारिक सूचना अख्तियारप्राप्त अधिकारी/प्रवक्ता/सूचना अधिकारीमार्फत मात्र प्रवाह गर्ने,
  3. विभागमा रहेका कर्मचारीले व्यक्तिगत विवरण पिआइएस (PIS) सम्बन्धित कर्मचारीलाई मात्र उपलब्ध गराउनु पर्नेछ।

८. निजामती कर्मचारीको आचारसंहिताको पालना : कर्मचारीले उल्लेखित आचार संहिताको अतिरिक्त कर्मचारीले पालना गर्नुपर्ने गरी कानून बमोजिम भएका अन्य आचारसंहिताको पालना गर्नुपर्नेछ ।

९.सीमित गरेको नमानिने : यस आचारसंहितामा उल्लेखित कुनै व्यवस्थाले कर्मचारीले प्रचलित कानून बमोजिम गर्नुपर्ने वा गर्न नहुने कुनै कामलाई सीमित गरेको वा त्यसमा छुट दिएको मानिने छैन ।

१०.आचारसंहिताको प्रभावकारी कार्यान्वयन : (1) यो आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रत्येक कर्मचारी जिम्मेवार रहनेछ ।

     (२) समय समयमा यसको कार्यान्वयन अवस्थाको अनुगमन, मूल्याङ्कन वा समीक्षा बैठक गरिनेछ ।

                 (3) विवाद उत्पन्न भएमा महानिर्देशकले गरेको निर्णय अन्तिम हुनेछ । 

                (४) यस आचारसंहितामा उल्लेखित प्रावधान प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म प्रचलित कानूनमा लेखिएको कुरा नै मान्य हुनेछ ।

११. संशोधन गर्न सकिने : विभागले आवश्यकता अनुसार यो आचारसंहितामा संशोधन गर्न सक्नेछ।

१२. खारेजी :  राष्ट्रिय किताबखाना (निजामती) मा कार्यरत कर्मचारीको आचारसंहिता, २०८३ खारेज गरिएको छ।